८ करोड ६३ लाखको भवन बनाउँदै मिलिजुली सहकारी

10 months ago/Thursday, August 23rd, 2018

करुणा बस्नेत ।

चरिकोट, ७ भदौ ।

दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले साँढे ८ करोड भन्दा बढिको लागतमा आफ्नै भवन बनाउने भएको छ ।

मिलिजुली साकोसले दोलखा सदरमुकाम चरिकोटको वीच बजारमा ८ करोड ६३ लाख ५६ हजार ६ सय २७ रुपैँयाको लागतमा आफ्नै सुविधा सम्पन्न व्यवसायीक भवन निर्माण गर्ने भएको हो । चरिकोटको व्यस्त बजारमा निर्माण हुने ५ तले भवनको आज एक कार्यक्रमका वीच ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेलले शिलान्यास गर्नुभयो । भवन शिलान्यास समारोहलाई सम्वोधन गर्दै मन्त्रि ढुँगेलले ‘समृद्ध नेपाल, सुखि नेपाली’ भन्ने नारालाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री ढुँगेलले सहकारी मुलुकको अर्थतन्त्रको एउटा खम्बा भएको भन्दै कृषिमा व्यवसायीकरण, उत्पादन र रोजगारी सिर्जना गर्न स्थानीय सरकारसँग मिलेर काम गर्न सहकारी क्षेत्रलाई सुझाव दिनुभयो ।

मिलिजुली साकोसले आन्तरिक कोषवाटै ८ करोड ६३ लाख ५६ हजार ६ सय २७ रुपैयाँ बराबरको लागतमा भवन बनाउन लागेको हो । ५ तले भवनको नाम ‘मिलिजुली टावर’ दिईएको छ । चरिकोट बीच बजारमा सँस्थाको नाममा रहेको २० आना जग्गामा बन्ने भवन निर्माणका लागि यसै आर्थिक बर्ष टेण्डर आव्हान हुने सँस्थाका अध्यक्ष नारायण वहादुर श्रेष्ठले जानकारी दिनुभयो । लिफ्ट सिस्टम र अपाङ्ग मैत्री प्रविधिको मिलिजुली टावर दोलखा जिल्लाका सहकारी सँस्थाहरुले निर्माण गरेका भवनहरु मध्ये सवैभन्दा महँगो भवन हुनेछ । बाल बचतकर्ता सहित करिव २५ हजार शेयर सदस्य रहेको मिलिजुली साकोसको करिव ८६ करोड कारोवार छ । यसअघि पनि मिलिजुली साकोसको चरिकोट बजारको माथिल्लो क्षेत्रमा आफ्नै भवन थियो । तर, सो भवन अपायक भएको भन्दै २०७२ सालमा ८३ लाख १० हजार विक्रि गरेर मुख्य बजार क्षेत्रमा १ करोड ३९ लाख रुपैयाँमा २० आना जग्गा खरिद गरिएको थियो ।

यसैवीच, मिलिजुली साकोसले रजत जयन्ती वर्ष समापन, २६ औं स्थापना दिवस र भवन शिलान्यास कार्यक्रमको अवसरमा सहरकारी क्षेत्रमा योगदान पु¥याउने ६ जना सहकारी अभियान्ताहरुलाई सम्मान पनि गरेको छ । मिलिजुली साकोसले सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेफ्स्कुनका केन्द्रीय अध्यक्ष डिवि बस्नेत, सहकारी अभियान्ताहरु यज्ञराज ढुंगेल, गोकुलध्वज कार्की, मिलिजुलीका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ र पूर्व अध्यक्ष गंगासागर श्रेष्ठ र निवर्तमान अध्यक्ष कृष्णबहादुर दाहाललाई सम्मान पनि गरेको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका साँसद पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सभाका साँसदहरु पशुपति चौंलागाई र बिशाल खड्का, प्रतिनिधि सभाका साँसद शान्तिमाया पाख्रिन, प्रदेश सभाका साँसद सरस्वती बस्नेत, काँग्रेस जिल्ला सभापति रुद्रवहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी दोलखाको अध्यक्षमा शिफारिस भएका नेता भिमप्रसाद दाहाल तथा नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रिय सदस्य सुदर्शन कार्की र नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मिलिजुली स्मृति नामक स्मारिकाको बिमोचन पनि गरिएको थियो ।

७ भदौ २०७५ । ६ः२० बजे प्रकाशित

VIEWS: 6345 पटक हेरीएको
error: Content is protected !!